अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत २५ गते।
चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदैछ ।
चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले यो खोप अघिल्लो चरणमा प्रथामिकतामा परेर पनि लगाउन नपाएका साथै व्यपार व्यवसायका साथै कुनैपनि कामकका लागि चीन जाने नागरिकलाई प्रथामिकता दिने सरकारले घोषणा गरेको थियो । तर त्यसको अलावा अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट कम्पनीमा काम गर्ने, औषधि, फलफूल, तरकारी व्यापारी प्रध्यापकलाई पनि यो चरणको खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंको अस्पतालहरु वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौ मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटीमा निशुल्क भ्याक्सीन लगाउने व्यवस्था मिलाएको छ ।