झापामा अत्यावश्यक सेवा बाहेका अन्य सवै सेवा बैशाख २० गतेबाट एक हप्ताका लागि बन्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २० गते।

कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलन थालेपछि भीडभाड हुने भन्दै त्यसको संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय झापाले अत्यावश्यक सेवा बाहेका अन्य सवै सेवा बैशाख २० गतेबाट एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाद्वारा जारी गरिएको विज्ञप्ती अनुसार नागरिकता वितरण, प्रतिलिपि निर्माण, राहदानी सिफारिस, हात हतियार दर्ता, नवीकरण, नाबालक परिचय पत्र वितरण, संस्था दर्ता, नवीकरण र राष्ट्रिय परिचय पत्र निर्माण जस्ता सेवाहरू बैशाख २० गतेदेखि २६ गतेसम्मका लागि बन्द गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सेनाले जानकारी दिए ।

त्यसैगरी शान्ति सुरक्षा र मुद्धा सम्बन्धि सेवा तथा अन्य अत्यावश्यक सिफारिसहरूभने सूचारू नै रहने पनि तिम्सेनाले जानकारी दिए ।

यसै बीच झापा प्रशासनले १९ गते मध्यरातबाट लागु हुने गरी सात दिने निषेधाज्ञा समेत जारी गरिसकेको छ । अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने गरी अत्यावश्यक कामबाहेक सर्वसाधारणले घर बाहिर निस्कन नपाइने जिल्ला प्रशासनले जनाएको छ ।

झापामा अब निषेधाज्ञामा हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर आदि गर्न नपाइने भनिएको छ । निषेधाज्ञा वैशाख २६ गते राति १२ बजे समापन हुने छ ।

सिनेमा हल, स्वीमिङ पुल, सामूहिक खेलकूद, पुस्तकालय, जिमखाना, पार्टीप्यालेस, सैलुन र ब्यूटीपार्लर सो अवधिमा बन्द गरिनुपर्ने निषेधाज्ञामा जनाइएको छ । झापा प्रशासनले यातायात क्षेत्रमा जोर–बिजोर प्रणाली पनि कार्यान्वयनमा ल्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *