रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुँदा डीएसपीसहित सातजना प्रहरीहरु घाइते

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,जेठ २४ गते।

रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुँदा डीएसपीसहित सातजना प्रहरीहरु घाइते भएका छन् ।

गरुडा नगरपालिका वडा नम्बर २ गेडही गुठी टोलमा आइतबार राति भएको झडपमा परी प्रहरीहरु घाइते भएका हुन् । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवम प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेसहित अन्य ६ जना प्रहरीहरु घाइते भएको रौतहटका प्रहरी उपरीक्षकले जानकारी दिए ।

प्रहरीले भिडभाड नगर्न आग्रह गर्दा स्थानीय र प्रहरीबीच झडप भएको हो । घाइते भएका डिएसपी घिमिरेको टाउकोमा चोट लागेको छ ।

सोही ठाउँ बस्ने १९ वर्षीय सुजित कुमार सहनीको विवाहमा निषेधाज्ञाको समयमा मापदण्ड विपरीत मानिसहरुको उपस्थितिमा डिजे बाजा बजाएको उनीहरुमाथि आरोप छ ।

ईलाका प्रहरी कार्यालय शिवनगर तथा गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले बाजा बन्द गराउने क्रममा उल्टै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *