अनलाईन न्युजपाटी,बिराटनगर ,समाचारदाता,असार १३ गते।
सुनसरीस्थित पूर्व–पश्चिम राजमार्गमा हायस गाडी (माइक्रो बस) ले पिकअप भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । घटनामा २ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र म्याजिक भ्यानलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ताका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह ,पछाडि सवार बिराटनगर ९ का राम प्रसाद शाह साह र म्याजिक चालक विराटनगरका अक्षय कुमार गुप्ता रहेको छन् । तीनै जनाको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ३ ख ७२४४ नम्बरको हाइसले ओभरटेक गर्नेक्रममा पश्चिमबाट पूर्वतर्फ आइरहेको स १ छ ४६६१ नम्बरको मोटरसाइकल र बा ३ ख ९३६८ नम्बरको म्याजिकलाई ठक्कर दिएको थियो । हायसले शुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल उछिट्टीएर सडकबाट तल झरेको थियो ।
त्यसपछि हायसले पुनः पश्चिमबाट पूर्वतर्फ आइरहेको म्याजिकलाई पनि ठक्कर दिएको डिएसपी कार्कीले बताए ।
दुर्घटनामा हायस चालक नुवाकोट विदुर नगरपालिकाका ३५ बर्षीय विकास तामाङ सामान्य घाइते छन् भने सहचालक नारायण बस्यालको खुट्टा भाँच्चिएको प्रहरीले जनाएको छ ।