अनलाईन न्युजपाटी,सप्तरी,समाचारदाता,साउन १८ गते।
सप्तरीको प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चोरी भएको चाँदीको मुकुट सहित चोर पक्राउ परेका छन् ।
आइतबार साँझ छिन्नमस्ताको चाँदीको मुकुट चोरी भएको थियो । चोरी भएको मुकुट विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।
उनका अनुसार मुकुट बोकेका मान्छे गाउँ घुमिरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले ती मान्छेलाई नियन्त्रणमा लिएको छ । ‘नियन्त्रणमा लिएका मान्छेको मानसिक सन्तुलन ठीक नभएको कुरा आइरहेको छ’ एसपी धमलाले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’
छिन्नमस्ता गाउँपालिका ३ स्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मूर्तीबाट मुकुट चोरी भएपछि खोजीका लागि भारतीय सीमा समेत सिल गरी चोर खोज्ने काम गरिएको थियो ।
मुकुट चोरी भएको सूचना आएपछि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित सुरक्षा अधिकारी राति छिन्नमस्ता मन्दिर पुगेका थिए ।