अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,साउन २० गते।
गएको शनिबार १८ वर्षे उत्सव बस्न्यातको अनुहारमा चमक थियो । हुन पनि किन नहोस्, आफ्नै हातले बनाएको प्लेन आकासमा हावासँगै उडिरहेको थियो ।
शनिबार उनी आफ्ना साथीहरुसँग काठमाडौंको महांकालमा ठाडोमुन्टो लगाएर आँखाहरु आकासतिर दौडाइरहेका थिए । प्लेन १२० फिटदेखि १६० फिटमाथिसम्म उड्यो । साथीहरुले वाईवाई गरे ।
उत्सवको मन प्लेनसँगै उड्यो । अलिकति भावुक पनि भए र सोँचे, ‘एक दिन घण्टौंसम्म संसार परिक्रमा गर्ने प्लेन बनाउँछु ।’ त्यो पनि अहिलेको जस्तो तेल हाल्ने प्लेन होइन, विद्युतीय प्लेन ।
सिद्धार्थ बनस्थलीमा पढ्ने उत्सवको ११ कक्षाको परीक्षा चलिरहेको छ । त्यही पनि उनलाई आफै बनाएको प्लेन उडेको हेर्ने मन रोकिएन ।
‘अहिले परीक्षा चलिरहेकाले धेरै समय दिन पाएको छैन’, उत्सवले खुसीको अनुभव सुनाए, ‘परीक्षा सकिएपछि आउने शनिबार थप माथि उडानेछु।’
उनले प्लेन उडान प्रयास गरेको यो पहिलो पटक होइन् । यसअघि ३ पटकसम्म यसैगरी उडाउने प्रयास गरे तर प्लेनले उचाइ लिएन ।
एक पटक असफल भइसकेपछि उक्त प्लेनको पार्टपुर्जा भान्चिन्छ । कहिलेकाँही आगो लाग्छ पनि । पुनः सुरुबाटै बनाउनु पर्छ । जसले गर्दा प्लेन बनाउन चाहिने सामानको खर्च थपिन्छ ।
समय उत्तिकै लाग्छ । प्लेन उडानकै लागि आफूसँग भएको पैसा बचाउँथे । खाजा खर्चको लागि घरबाट पाएको पैसाबाट केही प्लेनलाई छुट्याँथे । कहिले बाहिरबाट सहयोग पनि पाए ।
‘काम गर्ने होइन, फोहर र खर्च मात्रै’ कहिलेकाही यस्तै प्रतिक्रिया पनि आउँथ्यो । तर, प्लेन उडेको हेर्ने रहर छोड्न सकेनन् । निरन्तर लागिरहे र गएको शनिबार केही सफलता पाए । ‘असफल भयो भनेर मैले छोडिन,’ उनी भन्छन्, अन्ततः सफल पनि भयो ।’
बच्चैदेखि विद्युतीय सामग्रीमा रूची:-
उत्सवलाई सानैदेखि विद्युतीय सामग्रीमा रूची थियो । बच्चैदेखि विद्युतीय सामग्री कसरी बनेको छ, कसरी चल्छ भनेर खालखुल पार्थे।
घरमा बिग्रिएका समानमात्र होइन, छिमेकीमा समेत बनाउन जान्थे । बच्चाबेला उनलाई नयाँ कुरा सिक्न र बनाउन एकदमै मन पर्थ्यो । डिस्कभरी र नेसनल खुबै मन पर्थ्यो ।
त्यो बेला उनीसँग आरसी (रेडियो कन्ट्रोल) कार थियो । अर्थात, रिमोटबाट चल्ने कार । उनी त्यो कारसँग धेरै खेल्थे ।
पछि उनले त्यस्तै आरसी कार पनि बनाए । आरसी कारमात्र कहाँ होर कक्षा ८ मा पढ्दै गर्दा आरसी रोबोटसमेत बनाए । आरसी कारका सामान र घरमा भएका केही समान प्रयोग गरेर उक्त रोबोट बनाएका थिए ।
‘रोबोटको बोट ठूलो थियो । चलाउने ठाउँ थिएन,’ उनले भने, ‘मैले रिजर्भ ट्यांकीमा चलाउँदा मज्जाले चलेको थियो ।’ उनको रुची अनेकन थियो । स्कुलमा डिआईवाई प्रोजेक्टहरु बनाएर वाहवाह पाउन्थे ।
नयाँ कुरा बनाउने कल्पनाशिलता चाहिन्छ । आफूमा त्यो क्षमता भएको उनी ठान्छन् । ‘म कुनै सामान बनाउँदै छु भने दिमागमा मज्जाले थ्रिडी मोडेलमा सोच्न सक्छु,’ उनले सुनाए ।
एकदिन उनले टिभीमा ड्रोन उडेको देखे । उनलाई पनि त्यस्तै ड्रोनको चाहना पलायो । भर्खर चलनचल्तीमा आएको ड्रोन महंगो थियो । किन्न सकेनन् ।
तर, उनले अठोट गरे, ‘त्यस्तो ड्रोन म आफै बनाउँछु ।’ त्यो बेला उनीसँग आरसी हेलिकोप्टर पनि थियो, जसले गर्दा ड्रोन उडाउने सपना उनीमा थियो ।
ड्रोन बनाउन अलिकति पैसा जम्मा गरिसकेका थिए । त्यत्तिले नभ्याउने भयो । ड्रोन बनाउने चाहना बीचैमा तुहियो ।
ड्रोनको सपना पूरा नभएपछि अरु केही बनाउन सकिन्छ कि भनेर अनुसन्धान गर्न थाले । युट्युव हेर्न थाले । अनुसन्धान गर्दै जाँदा उनले आरसी प्लेन अर्थात रिमोट कन्ट्रोलबाट उड्ने प्लेनको बारेमा थाहा पाए ।
त्यसपछि उनी यो प्लेन कसरी बनाउन सकिन्छ भनेर युट्युबमा अनेक भिडियो हेर्न थाले । लकडाउनको खाली समय पनि थियो । एकदिन उनी फेसबुक चलाउँदै थिए ।
‘फ्लाइट टेष्ट’ नामक फेसबुक पेजमा आरसी प्लेन बनाएर उडाएको भिडियोहरु राखिदो रहेछ । उनले ति भिडियोअरु धेरै हेरे । उनले थाहा पाए, आरसी प्लेन बनाउन ड्रोनभन्दा बढी खर्च लाग्ने रहेछ ।
उनले खर्च जुटाउने जुक्ति निकाले । उनले पनि ‘टेष्ट प्लाइट’ पेजमा लेखे, ‘मैले आरसी प्लेन बनाउँदै छु तर मलाई यसका पार्टपुर्जा किन्ने रकमको अभाव भयो । केही सहयोगको अपेक्षा गरेको छु।’
भित्री चाहना भएपछि उपाय आइहाल्छ । ‘मेरो कमेन्टमा एउटा बेलायतको मान्छेले म सहयोग गर्छु भनेर जवाफ दियो,’ उत्सवले भने ।
बेलायतको माइक न्युटन मार्करले प्लेन बनाउन चाहिने आधाभन्दा बढी सामग्री पठाइदिए । जसको मूल्य ४५ हजार रूपैयाँ बराबरको थियो । बाँकी आवश्यक पैसा आफ्नो आमाले दिनु भयो । ६ महिनाजतिको मिहिनेतपछि उत्सवले प्लेन बनाए ।
असफलता पछि सफलता :-
निरन्तररुपमा कुनै काममा लागेपछि एक दिन अवश्य सफलता पाइन्छ । यो कुरा उत्सवमा पनि लागु भयो । एक पटकको प्रयासबाट मात्रै प्लेन बनेको होइन् । पटक पटकको प्रयास र मिहिनेपछि उनको प्लेन उडेको हो ।
प्रत्येक पटकको गल्तीलाई अर्कोपटक सुधार्दै लगे । उनले शुरूमा प्लेनको पहिलो मोडेल तयार पारे । उक्त प्लेन बनाउन सामान किन्दा इन्डष्ट्रिएल फम बोर्ड किनेका थिए । बोर्ड धेरै गाह्रो भएका कारण प्लेन उड्न सकेनन् । उत्सवले यत्तिकै हार खाएनन् ।
उनको सपना थियो जसरी पनि प्लेन बनाएर उडाउने । त्यो सपना पुरा गर्न उनले दोस्रो प्लेन बनाउन शुरू गरे । उक्त प्लेनमा पहिलेकै बोर्ड प्रयोग गरे तर त्यसलाई परिमार्जन गरेर जति सकिन्छ कम तौलको बनाए ।
यो प्लेन उड्यो तर १० फिट माथि पुगेपछि क्रयास भयो । टेकअफ गर्ने बेला आगो लाग्यो । उनले फेरि तेस्रो प्लेन बनाउने योजना बनाए तर दोस्रो प्लेनमा आगो लागेर ५० प्रतिशत सामान नष्ट भएको थियो ।

फेरि थप सामान किन्नु पर्ने भयो । तेस्रो प्लेनमा उनले नयाँ फर्म बोर्ड थर्मोकल सिट प्रयोग गरे । नेपालमा नपाइने भएकाले उक्त बोर्ड पाउन निकै प्रयासपछि साथिको सहयोगले पाए । तेस्रो प्लेनमा केही गल्ती भएका कारण प्लेन ५० देखि ६० फिटमाथि १५ सेकेण्डलाई उड्यो र क्रयास भयो ।
धेरैले ‘तैले प्लेन बनाउन सक्दैनस,’ पनि भनेर हतोत्साहित नगरेको होइनन् । उनी भन्छन, ‘हेटर्स आर द बेस्ट मोटिभेटर्स’ । उनी झन यो काम गरिछाड्ने भनेर लागिपरे ।
सामानको अभाव भएपनि फेरि उनले चौथौ प्लेन बनाए । तीन पटकको अनुभवका कारण यसमा गल्तीहरु दोहोरिएनन् । चौथो प्लेन बनाउन धेरै समय लागेन । समान जम्मा गरेपछि २–३ दिनमै तयार भयो ।
अन्ततः परिणाम सकारात्मक आयो । प्लेन १६० फिटसम्म उड्न सफल भयो । ‘पानी परेका कारण प्लेन एक राउन्ड लगाएर ल्याण्ड गरेको थियो,’ उनी भन्छन्, ‘प्लेन क्षमताअनुसार अझै उड्न पाएको छैन् ।’ आगामी शनिबार फेरी प्लेन उडाउन उनको योजना छ ।
‘नेपालमा आरसी प्लेन बनाउन कम गुणस्तरको सामान प्रयोग गरेमा २०–२५ हजार खर्च लाग्छ,’ उनले आइसिटी समाचारसँगको कुराकानीमा भने ।
हेर्दा सजिलो जस्तो देखिए पनि ड्रोनभन्दा प्लेन बनाउन गाह्रो हुने उनको अनुभव छ । उनी भन्छन, ‘ड्रोन पार्ट पुर्जा जोड्ने बित्तिकै उड्छ तर प्लेन उडाउन पार्ट पुर्जाबाहेक अन्य कुरा पनि मिलाउनु पर्ने हुन्छ ।’
एरोनोटिकल इन्जिनियरिङ पढ्ने योजना :-
सिद्धार्थ बनस्थलि इन्स्टिच्युटमा विज्ञान विषय लिएर ११ कक्षा पढिरहेका उत्सवलाई भिवष्यमा पनि यस्तै प्लेन बनाउने व्यवसाय मै लाग्ने रहर छ ।
कक्षा १२ पछि अमेरिका गएर एरोनोटिकल इन्जिनियरिङ पढ्ने योजना रहेको उनले सुनाए । भविष्यमा ठूलो विद्युतीय प्लेन बनाउने सपना उत्सवको छ ।
उनी भन्छन् ‘कन्भेसनल फ्युलबाट चल्ने प्लेनको ठाउँ भविष्यमा विद्युतीय प्लेनले लिन जस्तो लाग्छ । त्यसकारण विद्युतीय प्लेन बनाउने सपना छ ।’
अब फेरि केही सामानको सहयोग पाएमा चौथौभन्दा राम्रो प्लेन बनाउने उनको योजना छ । ‘आरसी प्लेनको सामानहरु महंगो छ,’ उत्सवले कुराकानीलाई बिट मार्दै भने, ‘सहयोगबिना बनाउन गाह्रो छ । अब अलि फरक प्रकारको बनाउने योजना छ ।