स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २१ गते।

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ ।

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु मापदण्ड पालनामा आफूहरूसमेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सरकारले परीक्षा सञ्चालन गर्न आफूहरूलाई निर्देश गरेको र त्यसको कार्यान्वयन गराइने जानकारी दिनुभयो । परीक्षा स्थगित नहुनेसमेत बोर्डले स्पष्ट गरेको छ ।

एक बेन्च एक परीक्षार्थी
बोर्डले यस पटक कक्षा १२ को परीक्षामा एक बेन्च, एक विद्यार्थीको नीति लागू गराउनेछ । यसका साथै एउटा कक्षा कोठामा बढीमा २५ भन्दा बढी विद्यार्थी राखिनेछैन भने परीक्षा केन्द्रमा पनि एक दिनमा १५० भन्दा बढी विद्यार्थीलाई सहभागी नगराइने भएको छ । यसबाट परीक्षामा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन हुने अध्यक्ष पौडेल बताउनुहुन्छ । सबैभन्दा धेरै विद्यार्थी हुने अनिवार्य विषयका दिन उपपरीक्षा केन्द्र राख्न पाउने सुविधा बोर्डले परीक्षा केन्द्रहरूलाई दिएको छ । परीक्षा केन्द्र नजिकैको विद्यालय, कलेजमा उपपरीक्षा केन्द्र सञ्चालन गर्न सकिनेछ । केन्द्रमा विद्यार्थीको भीडभाड न्यून होस् भनेर यस खालको प्रबन्ध मिलाइएको बोर्डले जनाएको छ । यसका साथै परीक्षा केन्द्रमा मास्क, सेनिटाइजर अनिवार्य गराइनेछ भने विद्यार्थी, शिक्षकलाई हात धुने प्रबन्धसमेत मिलाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *