अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २० गते।
कोरोना महामारीका कारण रोकिएको सवारी चालक अनुमति पत्र लाइसेन्स ट्रायल परीक्षा आजदेखि खुलेको छ।
गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल)परीक्षा स्थगन गरिएका थिए ।
यातायात व्यवस्था विभागले आज अर्थात भदौ २० गतेबाट देशभरका यातायात कार्यालयबाट बाँकी रहेको ट्रायल परीक्षा मात्रै सञ्चालन गर्ने तर नयाँ सवारी चालक अनुमति पत्र आवेदन नलिने गरी प्रयोगात्मक परीक्षा सञ्चालन अनुमति दिएको हो।
कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका जनाइएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले अब सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८ का अनुसार परीक्षा हुने जानकारी दिनुभयो ।
हालै जारी सो नयाँ मापदण्डमा परीक्षार्थीले जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्दै मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने छ । यसैगरी परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुपर्ने र मापदण्डअनुसार परीक्षा सुरु हुनुअगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिने उल्लेख छ ।