अछाममा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ जना घाइते

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २५ गते।

अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चदेवल विनायक नगरपालिका–३ का १६ वर्षीय जीवन जैसी, सोही वडामा १८ वर्षीय सर्प बोहरा, १३ वर्षीय जीवन न्यौपाने र १५ वर्षीय हिमाल नेपालीको मृत्यु भएको छ । जैसीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएकामध्ये दुईलाई थप उपचारका लागि गए राति नै नेपालगञ्ज पठाइएको छ र अन्य १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षकले बताउनुभयो । उहाँले भन्नुभयो, “गम्भीर अवस्थामा रहेका दुई जनालाई हामीले नेपालगञ्ज पठाइसकेका छौँ, अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ, उपचार भइरहेकाको अवस्था जटिल छैन ।”

जिप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *