अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २६ गते।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
असोज शुक्ल सप्तमीका दिन मङ्गलबार सनातन हिन्दु धर्मावलम्बीले घर–डेरामा फूलपाती भित्र्याइँदै छन् । केरा, दारिम, उखु र अदुवाको बोट, बेसार, बेलपत्र, अशोक र जयन्तीको फूल, असुरोको पातलाई नवपत्रिका मानेर फूलपाती भित्र्याउने प्रचलन छ ।
हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याउने गरी धादिङको जीवनपुरबाट काठमाडौँको जमलमा फूलपाती ल्याउने टोली मङ्गलबार जीवनपुर गएको छ ।
यस वर्षको फूलपाती मङ्गलबार अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।
गोरखाबाट मगर जातिले पैदलै जीवनपुर ल्याएको फूलपातीलाई जीवनपुरबाट जमल हुँदै हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याउने प्रचलन छ ।
सरकारी अधिकारी र गुरु पुरोहितले आशागुर्जा कल्स्यौँडीसहित सिँगारिएको फूलपातीलाई जमलमा स्वागत गरेर दशैँघर भित्र्याउने तयारी भएको छ ।