अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज २६ गते।
नवरात्रको सातौं दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।
धर्मशास्त्रअनुसार कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छन् । तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास लिने गर्छन् । त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ । चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छन् । स्वरूप डरलाग्दो भए पनि कालरात्रिले भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास गरिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष कोरोना भाइरसको संक्रमणको जोखिम कम भएकाले शक्तिपीठ खुला गरिएको छ । गत वर्ष बडादशैंमा शक्तिपीठ बन्द गरी घर घरमै पूजा आराधना गर्न सरकारले अनुरोध गरेको थियो । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित देवी मन्दिर खुला गरिएको छ ।