अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २६ गते।
आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयको अनुसार आज दिउँसो १ बजे बस्ने छ ।
दिउँसो एक बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख छ ।
सोमबारको बैठकमा विपक्षी दलहरुको विरोधका बाबजुद संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस भएको थियो । सो विधेयक संविधानसँग बाझिएको भन्दै संसदबाट पारित गर्न नदिने रणनीति विपक्षी दलहरुले बनाएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपासहितका सांसदहरुले अध्यादेश संविधानसँग बाझिएको भन्दै यसअघि नै विरोधको सूचना दर्ता गराएका छन् । विरोधको सूचना दर्ता गराएकी नेकपा माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले प्रक्रियाअनुसार विरोध जनाउने बताइन् ।
यसअघि २३ फागुनमा बसेको संसद बैठकमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश पेस गर्दा कांग्रेस र समाजवादी दलका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेपछि सभामुख अग्नि सापकोटाले २६ फागुनसम्मका लागि बैठक स्थगित गरेका थिए ।
बुधबारको बैठकमा पनि बिभिन्न विधेयकहरु पेस गर्ने र दिवंगत सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ ।