अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १० गते।
स्थानीय सरकारहरुले आज आगामी आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रम र बजेट ल्याउँदै छन् । अधिकांश स्थानीय तहहरुले आआफ्नो गाउँसभा/नगरसभामा आज (बिहीबार) बजेट प्रस्तुत गर्न लागेका हुन् । केही स्थानीय तहहरुले भने यसअघि बजेट ल्याइसकेका छन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ-आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले संघ, प्रदेश र स्थानीय तहले आफ्नै स्रोतको आधारमा नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने बताए ।
नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले कोभिडको महामारीबाट नागरिकको जीवन उत्थान गर्ने, अर्थतन्त्रको शीघ्र पुनरुत्थानका गतिविधि सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राखेर स्थानीय तहले बजेटको तयारी गरेको जानकारी दिए।
स्थानीय तहका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष हो । त्यसैले विगतको चुनावमा गरेको वाचा पूरा गर्ने र आगामी चुनावमा जनतालाई प्रभावित बनाउने खालको बजेट आउने अपेक्षा गरिएको छ ।