अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस १८ गते।
भारतले कोभिड-१९ विरुद्ध आम खोप अभियान चलाउन तयारीको परीक्षणका निम्ति शनिवार देशभरि रिहर्सल गर्दैछ।
दशौँ हजार स्वास्थ्य कार्यकर्ता तथा स्वयंसेवकहरू परिचालन गरेर बन्दोबस्तीमा आइपर्नसक्ने कमजोरी पत्ता लगाउने, सुविधाको तयारी अवस्था जाँच्ने र करोडौँ मानिसहरूलाई खोप दिनका निम्ति आवश्यक प्रशिक्षणको जाँच उक्त अभ्यासमा गरिने बताइएको छ।
औषधि विज्ञहरूको समूहले भारतमा अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेका कम्पनीले विकास गरेको खोप प्रयोग सिफारिस गरेको भोलिपल्ट देशभरि तयारी जाँच्न खोप लगाउने अभ्यास गरिँदै छ।
भारतमा आउने साताहरूमा कोरोनाविरुद्ध खोप अभियान थालिने बताइएको छ।
पहिलो चरणमा भारतमा ३० करोड मानिसलाई खोप लगाउने योजना रहेको छ।
शुक्रवार भारतमा विज्ञहरूको समितिले अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोपलाई सिफारिस गरेको थियो।
उक्त खोप भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरिरहेको छ।
त्यहाँ खोपको अन्तिम स्वीकृति सरकारको औषधि नियामक निकायले केही दिनमा दिने बताइएको छ।