अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, चैत १३ गते।
कोरोनाभाइरसको खोप आफ्नो प्रशासनको पहिलो सय दिनमा २० करोड मानिसलाई लगाउने अमेरिकी राष्ट्रपति जो बाइडनले बाचा गरेका छन्।
ह्वाइट हाउसको उनको पहिलो पत्रकार सम्मेलनमा बाइडनले कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे पनि बताए।
बाइडनले भने, “आज म आफ्नो दोस्रो लक्ष्य तय गर्छु। हामी हाम्रो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिन्छौँ।”
उनले भने, “मलाई थाहा छ यो लक्ष्य महत्वाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो। तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रो नजिक पनि आउन सकेका छैनन्। र, मलाई विश्वास छ कि हामी यो बाचा पनि पूरा गर्नसक्छौं।”
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ।
अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ।