अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार ४ गते।
राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने जापान सरकारले निर्णय गरेको छ ।
गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो । यसअघि गत मे ११ मै आपतकाल हटाउने पूर्व निर्णय गरिए पनि दुई पटक आपतकाल बढाइएको थियो । नयाँ आपतकाल आइची, फुकुओका, होक्काइडो, ओकायामा, हिरोशिमा र ओकिनावा प्रिफेक्चरमा पनि विस्तार गरिएको थियो ।
सरकारको निर्णय बमोजिम आगामी जुन २० देखि ओकिनावा बाहेक अन्यत्रको आपतकाल अन्त्य हुनेछ । ओकिनामा भने कोभिड–१९ बाट संक्रमितको संख्या बढेको पाइएपछि आगामी जुलाई ११ सम्म आपतकाल कायम रहने छ ।
तर कोभिड–१९ विरुद्धका प्रतिबन्धात्मक व्यवस्थाहरु सम्पूर्ण रुपमा अन्त्य भने हुने छैनन् । देशभित्र कोभिड–१९ बाट संक्रमितको संख्या लगातार न्यून भएको र खोप अभियान तिब्र बनाइएको छ ।