अनलाईन न्युजपाटी,एजेन्सी ,समाचारदाता,साउन २९ गते।
तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्धार पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ।

उक्त सहर नियन्त्रणमा लिनु भनेको तालिबानका लागि निकै महत्त्वपूर्ण विजय हुनेछ।
उक्त सहर कुनै बेला तालिबानको बलियो पकड भएको क्षेत्र थियो र यो अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो।
अफगानिस्तानमा जारी लडाइँकाबीच तालिबानले बिहीवार थप मुख्य सहरहरू गज्नी र हेरातलाई आफ्नो नियन्त्रणमा लिएको थियो।
तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने क्रममा त्यसलाई सबैभन्दा नाटकीय ढङ्गको श्रृङ्खलाबद्ध कब्जा मानिएको थियो।
यसैबीच विश्व शक्ति राष्ट्रहरूले चाहिँ सैन्य शक्तिद्धारा अफगानिस्तानमा स्थापना हुने सरकारलाई आफूहरूले मान्यता नदिने चेतावनी दिएका छन्।
एकजना तालिबानका प्रवक्ताले “कन्धार पूर्ण रूपमा जितिएको छ” भन्ने घोषणा गरेका छन् ,स्रोतहरूले दक्षिणी हेल्मन्ड प्रान्तको राजधानी लश्कर गाहलाई पनि तालिबानले नियन्त्रण गरेको बताएका छन्। तालिबानले अहिले देशको उत्तरी क्षेत्रमध्ये धेरै स्थानमा नियन्त्रण गरिसकेको छ।
उसले हालसम्म देशको एक तिहाइ भू-भागमा आफ्नो नियन्त्रण कायम गरेको बताइएको छ। राजधानी काबुलतर्फ तालिबान अघि बढ्दै गर्दा व्यापक चिन्ताहरू व्यक्त भइरहेका छन्।
काबुलमा तालिबानले नियन्त्रण गरेका क्षेत्रबाट अहिले हजारौँ नागरिकहरू भागेर आएका छन्। कन्धार तालिबानको आरम्भ भएको सहर हो र पहिले यो उसको सबैभन्दा बलियो पकड भएको क्षेत्र रहेको थियो।

यसैबीच अमेरिकाले काबुलस्थित आफ्नो दूतावासबाट कर्मचारीहरूलाई सुरक्षित रूपमा फिर्ता गर्नका लागि करिब तीन हजार सैनिकहरूलाई काबुल पठाउने भएको छ।
पेन्टागनका एकजना प्रवक्ताका अनुसार दुई दिनभित्र ती सैनिकहरू काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ हुनेछन्।
अमेरिकी विदेश मन्त्रालयले जनाए अनुसार सुरक्षाका कारण काबुलमा ‘मुख्य कूटनीतिक उपस्थिति’ मात्र हुनेछ र त्यहाँका कर्मचारीको सङ्ख्या घटाइनेछ। तर दूतावास बन्द नगर्ने जनाएको छ।