अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर १२ गते।
आज जनकपुरधाममा हर्षोल्लासपूर्वक भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ।
महोत्सवका कारण जनकपुरको जानकी मन्दिर क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ।
विवाहपञ्चमी महोत्सवअन्तर्गत आज राम र सीताको वैवाहिक कार्यक्रम छ।
वैवाहिक कार्यक्रममा सहभागी हुन भारतबाट समेत हजारौं दर्शनार्थी जनकपुर आएका छन् ।
रंगभूमि मैदानमा राम र सीताको स्वयम्वर हुनेछ । स्वयम्वर पश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर साँझदेखि विवाहको काज सुरु हुन्छ । राम र सीताको विवाहको लागि यसवर्ष पनि जानकी मन्दिरको प्रांगणमा विवाह मण्डप अर्थात मरबा बनाइएको छ । राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई नवदुल्ही झै सृंगारिएको छ ।
बैबाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भूमिका निर्वाह गर्दछन् ।
मंसिर ७ गतेबाट सुरु भएको सप्ताहव्यापरी विवाहपञ्चमी महोत्सवको पहिलोदिन नगर दर्शन, दोश्रो दिन फुलवारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन दिन मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भइसकेको छ । आज सीतारामको विवाहको कार्यक्रम सम्पन्न भएपछि भोली रामकलेवा गरी जन्ती एवं साधुशन्तालाई विदाई गर्दै विधिवत रुपमा विवाहपञ्चमी महोत्सव समापन हुने छ ।
विवाहपञ्चमीलाई मध्यनजर गर्दै जनकपुरमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक विदा रहेको छ ।