अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ८ गते।
छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाएको छ । ‘वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।’
मन्त्रालयले खोप लगाएको तीन महिना पूरा भएकालाई बुष्टर मात्रा खोप लगाउनसमेत आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन, खोप लगाउन प्रेरित गर्न र जारी खोप अभियानमा साथ दिनका लागि समेत सबैलाई आग्रह गरेको छ ।