अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ४ गते।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।