अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ३१ गते।
नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम आज (मङ्गलबार)देखि सुरु भएको छ ।
नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच संयुक्त तालिम अभ्यास सुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाका अनुसार, २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुँदै आएको तालिम रक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुन लागेको हो ।
नेपाली सेनाको रेन्जर गणका ८० जना यो अभ्यासमा सहभागी हुने नेपाली सेनाले जनाएको छ । नेपाली सेना र अमेरिकी सेनाबीचको यो अभ्यासका क्रममा द्वन्द्वका समयमा कानुन कार्यान्वयन तथा सैनिकको निर्णय प्रक्रिया लगायतका विषयमा केन्द्रित भएर छाउनी र नगरकोट इलाकामा तालिम सञ्चालन भएको छ ।
तालिमका लागि क्याप्टेन ब्लाक डुक्याटेलको नेतृत्वमा आवश्यक सैन्य सामग्रीसहित अमेरिकी सेनाको टुकडी सोमबार नेपाल आइपुगेको निर्देशनालयले जनाएको छ ।