मतदानका दिन कुन-कुन सवारीसाधन चल्ने?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २७ गते।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन तोकिएका सवारी साधन मात्र सञ्चालन गर्न पाइने भएको छ।

निर्वाचन आयोगले मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेसँगै मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्न तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ।

आयोगका अनुसार बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोर मैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधनले सवारी अनुमति पत्र लिनु नपर्ने निर्णय गरेको हो।

यस्तै सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चार गृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनले पनि सवारी अनुमति पत्र लिनुपर्ने छैन।

दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारी साधनले पनि सवारी अनुमति लिनुपर्ने छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *