राष्ट्रिय सभामा १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १२ गते। 

राष्ट्रियसभा सदस्य १९ पदका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ ।

बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा मतदान हुनेछ । प्रदेश १ मा तीन, मधेश प्रदेशमा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुँदै छ ।

आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *