धनुषाको चारवटै निर्वाचन क्षेत्रमा निर्वाचनको मतदान कार्य बिहान ७ बजेदेखि सुरू

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर ४ गते।

धनुषाको चारवटै निर्वाचन क्षेत्रमा निर्वाचनको मतदान कार्य बिहान ७ बजेदेखि सुरू भएको छ ।

जिल्लाको ३२२ वटा मतदान स्थलका ६०५ मतदान केन्द्रमार्फत मतदान कार्य सुरू भइसकेको धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

धनुषाका चार निर्वाचन क्षेत्रमध्ये ५०० दशमलव ४९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निर्वाचन क्षेत्र नम्बर–१ मा १५१ मतदान केन्द्रमार्फत ६१ हजार ६३३ पुरुष र ५६ हजार ९९४ महिला गरि कूल १ लाख १८ हजार ६२८ जना मतदाताले आज आ–आफ्नो मताधिकारको प्रयोग गर्न लागेका छन् ।

त्यस्तै, २४७ दशमलव ६३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निर्वाचन क्षेत्र नम्बर–२ को १६५ मतदान केन्द्रमार्फत ६६ हजार ८१० पुरुष र ५७ हजार ९४४ महिला गरि १ लाख २४ हजार ७५५ मतदाताले मतदान गर्ने भएका छन् ।

१३५ दशमलव ५३ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा १४५ मतदान केन्द्रमार्फत ६२ हजार ८७ पुरुष र ५१ हजार ९१९ महिलासहित कुल १ लाख १४ हजार ९ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।

त्यस्तै, ३०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ मा १४४ मतदान केन्द्रमार्फत ६२ हजार ३८५ पुरुष र ५४ हजार ८०८ महिला गरि कुल १ लाख १७ हजार १९५ जना मतदाताले मतदान गर्ने भएका छन् ।

धनुषामा निर्वाचनका लागि ४ हजार ८४० कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी गरि कुल ८ जना कर्मचारी खटिएका छन् ।

निर्वाचन सुरक्षाका लागि धनुषामा ६ हजार सुरक्षाकर्मी परिचालित छन् । जसमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको छुट्टाछुट्टै टोलि खटिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनले जिल्लाभरिमा करिव १ सय भन्दा बढिको संख्यामा मोबाइल गस्ती टोलीसमेत परिचालन गरिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *