राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने: महन्थ ठाकुर

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २७ गते।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले भने, ‘सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ । सत्तामा सहभागी हुनु ठूलो कुरा होइन, कमसेकम राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ ।’

अध्यक्ष ठाकुरले सत्ता गठबन्धनमा सहभागी हुनेलगायत समसामयिक विषयमा आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी हुने पनि जानकारी दिए । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आजै सार्वजनिक हुने र त्यसपछि नयाँ सरकार गठनका लागि दलहरुले पहल कदमी अघि बढाउने बुझिएको छ ।

लोसपाका वरिष्ठ नेता शरत्सिंह भण्डारीले सत्ता गठबन्धनमा सहभागी हुनेबारे पार्टीका शीर्ष नेताहरुको बैठकले निर्णय गरिसकेको बताए । उनले भने, “हिजो हामी निर्वाचनमा पनि गठबन्धन गरेर गएका थियौँ, अहिले निर्वाचनपछि पनि स्वाभाविक रुपमा सत्ता गठबन्धनमा रहन्छौँ, नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहन्छ ।”

सत्ता गठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाको छिट्टै कार्यकारिणी समितिको बैठक बोलाइएको पनि नेता भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *