अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस १९ गते।
सोमबार बिहानैदेखि जाडो बढेपछि महोत्तरी जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् ।
जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ दिनको बिदा सूचना गरेका छन् । त्यसैगरी मटिहानी, भङ्गाहा, लोहारपट्टी, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकाले पनि आजदेखि २२ गतेसम्म चार दिन बिदा दिने सूचना जारी गरेका छन् ।
यसअघि गत आइतबार नै मनराशिशवा र रामगोपालपुर नगरपालिकाले पुस २२ गतेसम्मको बिदा सूचना गरेका थिए । जिल्लाका १५ स्थानीय तहमध्ये ११ ले विद्यालयमा जाडो बिदाको सूचना जारी गरिसकेका छन् ।
जिल्लाका बर्दिबास र गौशाला नगरपालिका तथा महोत्तरी र एकडारा गाउँपालिकामात्र यस्तो सूचना निकाल्न बाँकी छन् ।
महोत्तरी र एकडाराले आजै बिदा दिने सूचना जारी गर्ने तयारी गरेका बुझिएको छ ।