अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर २७ गते।
जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइँदै छ ।
सो महोत्सवको पहिलो दिन हिजो नगरदर्शन भएपछि दोस्रो दिन आज फूलबारी लीला मनाइँदै छ ।
फूलबारी लीलामा फुलबारीमा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्रांगणमा रहेको फूलबारीमा घुमाइन्छ ।
त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसंग फूल टिप्न आएकी जानकीसंग पहिलो भेट भएको धार्मिक विश्वास रहेको छ ।
सोहि अनुसार विवाहपञ्चमी महोत्सवमा दोश्रो दिन फूलबारी लिलामा घुमाउँदै राम लक्ष्मण र सीताको भेटघाट गराउने गरिन्छ ।
दोस्रो दिन बुधबार फूलबारी लीला, तेस्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौ दिन मंसिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको विदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुने छ ।