अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार २९ गते।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको सूचना अनुसार पछिल्लो तीन घण्टायता सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा आसपास अति भारी वर्षा भएको छ ।
अहिले मनसुनी प्रणाली पूर्वी क्षेत्रमा बढी सक्रिय भएकाले त्यहाँका केही ठाउँमा आरीघोप्टे पानी परेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ तथा हरैचा आसपास अति ठूलो पानी परेकाले बाढी र डुबानको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँका बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत साना खोलामा आकस्मिक बाढीका साथै होचा ठाउँमा डुबानको उच्च जोखिम छ ।
बिहान ११ बजेसम्म नै यी क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।