अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस १८ गते।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अझै पनि संघीयता कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । प्रदेश सांसदहरूको शपथग्रहणपछि सोमबार बसेको पहिलो प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीयता कार्यान्वयन गर्न मधेस प्रदेशलाई अझ बढी चुनौती रहेको बताएका हुन् ।
नयाँ सरकारकालाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने बताउँदै मुख्यमन्त्री राउतले सबै दल एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेकोले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको समन्वयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
संघीयता कार्यान्वयनकै लागि संघीय सरकारविरुद्ध दर्जनभन्दा बढी मुद्दा दायर गर्नु परेको पनि उनले बताए । मुलुकमा मधेस प्रदेशले मात्र संघीयता टिकाएको दाबी गर्दै मुख्यमन्त्री राउतले प्रदेश सांसद एकताबद्ध भएर अगाडि बढे मात्रै संघीयता कार्यान्वयन हुने बताए ।