अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २६ गते।
साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल बङ्गलादेशसँग भिड्दै छन् ।
बङ्गलादेशले ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।
सोमबार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो ।
बंगलादेशविरुद्ध मैदान उत्रँदा नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोलीविरुद्ध जित निकाल्न नेपाललाई सहज हुनेछैन ।
तर, नेपालका मुख्य प्रशिक्षक यम गुरुङले फाइनलमा घरेलु टोलीविरुद्ध कडा टक्कर दिने बताएका छन् । बङ्गलादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले फाइनल प्रतिस्पर्धात्मक हुने दाबी गर्छन् ।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
लिग चरणमा समेत नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाललाई बंगलादेशले ३-१ ले हराएको थियो ।