अनलाईन न्युजपाटी , जनकपुरधाम,समाचारदाता, साउन १७ गते।
जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक देखिएको छ ।
मौना पञ्चमी तिथिबाट सुरु भई साउन कृष्णपक्षको तृतीया तिथिमा विधिवतरुपमा यो पर्व सम्पन्न हुनेछ ।
यस पर्वका अवसरमा लगातार १३ दिनसम्म दाम्पत्य जीवन सुखमय बनाउन र पतिको दीर्घायूको कामनाका साथ विभिन्न देवीदेवताको पूजा गरिन्छ ।
यस पर्वको अवधिमा नवविवाहिताले प्रतिदिन अपराह्नको समयमा टोलमा भ्रमण गरी भोलि गर्ने पूजाका लागि फूल टिप्छन् । सो बासी फूलबाट पूजा गर्ने नियम रहेको छ ।
नवविवाहिता आआफ्ना सङ्गिनीको साथ फूल टिप्ने गर्छन् । यसलाई ‘फूल लोढ्न’ विधि भनिन्छ । विवाह भएको पहिलो साउन महिनामा मनाइने गरिएको यस पर्वको मुख्य उद्देश्य दाम्पत्य जीवनलाई सुमधुर एवं सुखमय बनाउनुनै हो ।