आज विश्वकर्मा पूजा मनाइँदै

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, असोज १ गते

आज विश्वकर्मा पूजा मनाइँदै छ । धार्मिक विश्वासअनुसार भगवान् विश्वकर्माको जन्म आजकै दिन भएको मानिन्छ । त्यसैले यस दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ ।

विश्वकर्मा पूजाका अवसरमा उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानमा कार्यरत मजदुर, शिल्पकार, कलाकार र उद्यमीले आफ्ना मेसिन, औजार तथा उपकरणको सरसफाइ गरी पूजा गर्ने गरेका छन् । नयाँ सवारीसाधन खरिद गर्ने तथा पुराना सवारीसाधनको समेत पूजा गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार महादेवले ब्रह्मा र विष्णुलाई क्रमशः सृष्टिको सिर्जना र पालनको भिन्न–भिन्न जिम्मेवारी दिएका थिए । सृष्टिको सिर्जना गर्ने आफ्नो कार्यभार सम्पन्न गर्न ब्रह्माले आफ्ना वंशज देवशिल्पी विश्वकर्मालाई आदेश दिएका थिए ।

विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर तथा वास्तुकार मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको पौराणिक कथन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *