अनलाईन न्युजपाटी काठमाडौँ समाचारदाता, साउन ६ गते
वर्षा सुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । तराई पुग्ने नदी र स्थानीय नदीमा आउने बाढी र वर्षाको पानीले डुबानको विपत्ति आउने गरेको छ ।
तराईमा परेको हालको पानीले सामान्य डुबान सुरु भए पनि ठूलो क्षति गरेको छैन । कोसी, कमला, बाग्मतीलगायत सीमा क्षेत्रमा बाँधका कारण स्थानीय नदीको बहावले बस्ती डुबानमा पार्ने खतरा उच्च छ । जसका लागि सबै जिल्लावासी, जिल्ला विपद् व्यवस्थापन समितिका उद्धारकर्ता उच्च सतर्क छन् ।
मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन वर्षा निरन्तर रहने जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले भारीदेखि मध्यम वर्षा हुने क्रम जारी रहेकाले कोसी, नारायणी, कमला, महाकाली, राप्ती, स्थानीय खोला लगायतका नदीको बहावले सतर्कता तह पार गर्न सक्ने भएकाले सतर्क रहन भनेको छ ।