अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, साउन २४ गते
महोत्तरीको गौशाला नगरपालिकाले एक हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।
शनिबार नगरपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय छलफलमा आइतबार राति ११ बजेदेखि साउन ३१ गते शनिबार ११ बजे रातिसम्म लागू हुने लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख शिवनाथ महतोले जानकारी दिए।

नगरप्रमुख महतोको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा समुदायस्तरमै कोरोना संक्रमण फैलिन सक्ने भन्दै अति आवश्यक औषधी पसल र स्वास्थ्य चौकीबाहेक हाटबजार, पसल, बैंक, वित्तीय संस्था, सवारी साधन बन्द गर्ने निर्णय गरेको हो।
यसभन्दा पहिले महोत्तरीको जलेश्वर नगरपालिका, भंगहा नगरपालिका, महोत्तरी गाउँपालिका, सम्सी गाउँपालिका बन्द गरिएको छ ।