आईपीएलमा कोलकत्ता नाइट राइडर्सको दोस्रो जित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १५ गते

यूएईमा जारी १३औं संस्करणको आईपीएलमा कोलकत्ता नाइट राइडर्सले आफ्नो दोस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि टोम कुरानले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जिततर्फ धकेल्न सकेनन् । कुरानले ३ छक्का र २ चौकाको सहायतामा अजिवित ५४ रन जोडेका थिए ।

यसैगरी जोस बट्लरले २१ रन बनाउँदा राहुल टेवाटियाले १४ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकको रन जोड्न सकेनन् ।

कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले समान २–२ विकेट लिए ।

जितसँगै ३ खेलबाट ४ अंक जोड्दै कोलकत्ता लिगको दोस्रो स्थानमा उक्लिएको छ । यसअघि कोलकत्ताले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो भने दोस्रो खेलमा कोलकत्ताले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *