अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, असोज १८ गते
कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ ।

आइताबर प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएका छन्। त्यसैले जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको जनाएका छन्।
गत असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा संक्रमण देखिएको र तीन प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा एकजनामा संक्रमण लक्षण र अन्य दुईसहित आठजनामा कोभिड–१९ संक्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्न आजदेखि असोज २४ गतेसम्मलाई अति अवाश्यकबाहेकका सेवा बन्द रहने प्रजिअ कँणेलले बताए ।
अति आवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दुरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोई वा सेनिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अति आवश्यक सेवा लिन प्रजिअ कँणेलले सबैसँग आग्रह गरे ।