अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, कार्तिक १७ गते
बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ । केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो ।
जनप्रतिनिधि र स्थानीय सङ्घर्ष समितिबीच आइतबार अपराह्न भएको सहमतिपछि ताला खुलेको गाउँपालिकाका उपाध्यक्ष लीला बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नु्भयो, “गाउँपालिकामा लामो समयदेखि तालाबन्दी खुलेपछि सोमबारदेखि कामकाज सञ्चालन हुने भएका छन् ।” जनप्रतिनिधिका तर्फबाट उपाध्यक्ष बिष्ट, वडा नं ५ का कार्यवाहक वडाध्यक्ष धनबहादुर मडै र सङ्घर्ष समितिका तर्फबाट कृष्णबहादुर चन्द, प्रेम लुहारलगायतको सहभागितामा छलफल भएको थियो ।
तत्कालका लागि साविककै ठाउँबाट काम सञ्चालन गर्ने र केन्द्रका बिषयमा सर्वपक्षीय, सर्वदलीय छलफलबाट टुङ्गो लगाउने सहमतिसहित ताला खुलेको उपाध्यक्ष बिष्टले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा गत असोज २८ गते झडपसमेत भएको थियो । सो झडपमा गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टसहित १४ जना घाइते भएका थिए ।