अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,पुस १ गते।
रामजानकी विवाहपञ्चमीको तेश्रो दिन जनकपुरमा आज धनुष यज्ञ मनाइँदैछ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले धनुष उठाएर धनुषमा वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने निधोका साथ गरिएको धनुष यज्ञमा सयौं शक्तिशाली र वलबानहरुले धनुष हल्लाउन सकेनन् । अन्त्यमा, दशरथ पुत्र श्रीरामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर वाण हान्न खोजेपछि तीन टुक्रा भएको थियो ।
धनुष भाँचेर तीन टुक्रामध्ये एक आकाश, एक पाताल धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ । अहिले धनुषाधाम र गिरिजास्थानमा भव्यताका साथ धनुषको पूजापाठ हुँदै आएको छ ।

जानकी मन्दिरमा आज धनुष यज्ञ गर्ने कार्यक्रम रहेको महन्त रामतपेश्वर दासले जानकारी दिए । विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन मंगलबार फुलबारी लिला सम्पन्न भइसकेको छ ।
चौथो दिन भोलि पुस २ गते बिहीबार तिल्कोत्सव, ३ गते शुक्रबार राम र जानकीको मटकोर रहेको छ भने पुस ४ गते विवाहपञ्चमीको मुख्यदिन विवाह रहेको छ । पुस ५ गते आइतबार रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसंग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।