अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस २४ गते।
जापानको राजधानी टोकियोमा कोरोना महामारी फैलन थालेपछि एक महिना लामो संकटकाल घोषणा गरिएको छ ।
जापान सरकारले बिहीबार एक महिना लामो सङ्कटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल लगाउनु परेको बताए ।
सङ्कटकाल अन्तर्गत रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ विक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुने अधिकारीहरुले बताएका छन् ।
“सरकारको आग्रहलाई कृपया पालना गरिदिनु होला, तपाईसँगै तपाईको बुवा आमा, हजुर बुवा हजुर आमा र साथीहरूको जीवन जोगाउनका लागि पनि यो आवश्यक छ,” उनले भने । सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र विक्रेताले उनीहरुले माग गरेको ठाउँमा पुर्याइदिने व्यवस्था हुनेगरी मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।