आज शहीद दिवस मनाइँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १६ गते।

देश र जनताको अधिकारका लागि जीवन आहुति दिने तिनै शहीदहरुको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।

पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ ।

वीर शहीदहरुको स्मरणमा विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुपमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाउने गरिएको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।

शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ । सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ ।

सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको छ ।

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *