अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २३ गते।
प्रतिनिधिसभाको आज बैठक बस्दै छ। सर्वोच्च अदालतको आदेशपछि सरकारले संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही आधारमा आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । तर सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएको थियो । सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
अधिवेशन सञ्चालन गर्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड, प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । सचिवालयले गत पुसमै अधिवेशनका लागि आवश्यक तयारी गरिसकेकाले अहिले सामान्य सरसफाइ र कोभिड–१९ निःसङ्क्रमणको व्यवस्थापन गरिएको उहाँले बताउनभयो ।
नेकपा दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ ।
यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन हुने छ । त्यसपछि राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पनि वाचन गरिने छ ।
विधेयक अधिवेशनका रुपमा रहने यो हिँउदे अधिवेशनमा प्रतिनिधिसभामा विचाराधीन विभिन्न विधेयकहरु पनि पेश हुने छन् । बैठकमा प्रतिनिधिसभाका बहालवाला तथा यसअघिका सांसदहरु गरी १४ जनाको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची पनि छ । संसद बैठकको अन्तिम कार्यसूची भने कार्यव्यवस्थाप परामर्श समितिको बैठकले टुंगो लगाउने छ ।