अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,फागुन २९ गते।
१५ दिने मिथिला मध्यमिकी परिक्रमा आजदेखि शुरू भएको छ।
फागुन औंसीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौं धार्मिक ऐतिहासिक ठाउँहरूको १२० किलोमिटर यात्रा हुँदै आएको छ।
धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा यात्राको लागि प्रस्थान गरेपछि १५ दिवसीय परिक्रमा विधिवत रुपमा प्रारम्भ हुनेछ ।
१५ दिने परिक्रमाअन्तर्गत जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर महादेव, फूलहरमा रहेको गिरिजा स्थान, करुण, विसौल, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाको धनुषाधाम, सतोखर, औरही र यात्राको अन्तिम दिन अर्थात् १५औं दिनमा जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्यमा मिथिला परिक्रमा सम्पन्न हुन्छ।
रामजानकीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ।
यस परिक्रमामा नेपालको धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही र सीमावर्ती भारतीय राज्य विहारको सीतामढी, मधुबनी, दरभंगा सहितका जिल्लाबाट लाखौं श्रद्धालुभक्तजन र साधुसन्तहरूको सहभागिता रहने गर्छ।