अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ६ गते।
इटहरीका निजी कलेजहरूले कलेज नलागेको समयको समेत शुल्क असुलेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । इटहरीका कलेजहरूले नै विद्यार्थीहरूबाट विभिन्न बहानामा अनावश्यक शुल्क असुलेको भन्दै विद्यार्थीहरूले दैनिकजसो आन्दोलन गरिरहेका छन् ।
इटहरीको विश्व आदर्श कलेजमा कक्षा १२ अध्ययनरत नीमा तामाङले आफूहरूलाई कलेजले मानसिक यातना दिने गरेको बताए । कलेजले नपढेको समयको शुल्कसमेत असुलेको भन्दै विद्यार्थीहरू विद्यार्थी सङ्गठन बिना नै आन्दोलित भएको बताए । पैसा नदिए शिक्षकहरूले प्रयोगात्मक परीक्षामा फेल गराइदिने धम्की दिएको तामाङको भनाइ छ ।
इटहरीको विश्व आदर्श, कस्तुरी, कोशी, शुष्मा, नमुनालगायत आधा दर्जन बढी निजी कलेजका सयौँ विद्यार्थीहरूबाट शुल्क असुल्न बहानाबाजी गरेको विद्यार्थीहरूले बताए । कलेजहरूले विभिन्न बहानामा विद्यार्थीहरूबाट शुल्क असुल्ने गरेको विद्यार्थीहरूको गुनासो छ ।