अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,चैत १२ गते।
एक महिनाअघि ओछ्यानसहित बेपत्ता भएका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको शव फेला परेको छ । बिहीबार महोत्तरीको पिपरा गाउँपालिका–२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको हो।
व्यापक खोजतलासको क्रममा झा दम्पतिको शव निर्माणधिन सडकमै गाडेको अवस्थामा फेला परको हो ।
शव भेटिएको ठाउँ पीपरा बजारबाट अतरा जानेबाटोको डाईभर्सन भएको ठाउँमा छ । सडक निर्माण अन्तर्गत दोश्रो चरणमा माटो बिछ्याउने क्रममा माटोले पुरिएको अवस्थामा दुबैजनाको शव एकै ठाउँमा गाडेको अवस्थामा भेटिएको हो ।
शवको सनाखत मृतकका छोरा र भतिजाले गरेका छन् । हाल प्रहरीले अपहरण र हत्याबारे विभिन्न तरिकाले अनुसन्धान गरिरहेको छ ।
झा दम्पती अपहरणमा संलग्न रहेको अभियोगमा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र भारतको बिहार प्रान्त मधुवनी, थाना मधुवापुर, ग्रामपंचायत तरैया वडा नम्बर २ अनदौली घर भई हाल महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ बनौली चौक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो।