म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, चैत १५ गते।

सैनिक ‘कु’ विरुद्ध म्यान्मारमा शनिबार गरिएका प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा दर्जनौं प्रदर्शनकारी मारिएका छन् ।

शनिबार ‘आर्मड फोर्सज डे’को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर मृतकको संख्या यकिन हुन सकेको छैन ।

सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् तर उनले चुनावको मितिबारे केही उल्लेख नगरेको बीबीसीले जनाएको छ ।

३० मिनेट लामो भाषणका क्रममा ह्यालिङले ‘सेनाले म्यान्मारका जनतालाई बचाउने र लोकतन्त्रप्रति उनीहरूको तिर्खा मेटाउने’ जनाएका थिए ।

जुन्ता शासकले राजधानी नेइपिडअमा ७६ औं सशस्त्र फौज दिवस मनाइरहँदा लोकतन्त्र पक्षधरहरूले ‘सैनिक तानाशाहीविरुद्धको दिवस’ भन्दै प्रदर्शन चर्काएका थिए ।

त्यसयता भएका विरोध प्रदर्शनमा ३२० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार पत्रकार तथा अधिकारकर्मीसहित सयौं मानिस प्रहरी नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *