अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,चैत २२ गते।
कैलाली जिल्लामा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन्।
जिल्लाको साविक मालाखेती गाविस ९ तथा हालको गोदावरी नगरपालिका ६ खैराना बस्ने ३८ वर्षीय रामप्रसाद चौधरी १२ वर्षपछि पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले २०६५ जेठ २४ गतेदेखि फरार थिए।
चौधरीले आफ्नो बारीमा रहेको फलफूल (आरु) खान गएका सोही स्थानका ६ वर्षीय लक्ष्मण चौधरीसहित ५-६ जना केटाकेटीहरुलाई लखेटी कुटपिट गर्दा लक्ष्मण चौधरीको छाती लगायतको भागमा चोट लागेको थियो र सोही स्थानमा बेहोस भइ मृत्यु भएको थियो। घटनामा संलग्न चौधरी सोही स्थानबाट भागेर फरार रहेकोमा निजको खोज तलास जारी रहेको थियो।
प्रहरी टोलीले चैत २१ गते गोदावरी नगरपालिका वडा नम्बर ७ मगरटोलबाट निज चौधरीलाई फेलापारी पक्राउ गरि थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षकले जानकारी दिए।