कोरोना महामारीलाई मध्यनजर गर्दै जनकपुर सहित धनुषा जिल्लाभरिको हाट, बजार र पसलहरु दैनिक ६ घण्टा मात्र खुल्ने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख ८ गते।

आजदेखि कोरोना महामारीलाई मध्यनजर गर्दै जनकपुर सहित धनुषा जिल्लाभरिको हाट, बजार र पसलहरु दैनिक दुई सिफ्टमा ६ घण्टा मात्र खुल्ने भएको छ

मंगलबार बसेको जिल्ला सँकट व्यवस्थापन समिति धनुषाको बैठकले भीडभाड नियन्त्रण गर्न बिहान ७ बजेदेखि १० बजेसम्म र अपराह्न ४ बजेदेखि ७ सम्म मात्र हाटबजार तथा पसल खोल्न दिने निर्णय गरेको हो ।

यो निर्णय बुधबार बिहानदेखि लागू हुने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।

यी समयलाई उलँघन गरेको वा नगरेको सम्बन्धमा सम्बन्धित स्थानीय तह तथा प्रहरीले अनुगमन गर्ने निर्देशन समेत दिएको हो ।

सेवाग्राहीहरुको अत्यधिक भीडभाड हुने सरकारी कार्यालयहरुमा भीडभाड कम गरी संक्रमण जोखिम न्युनिकरण गर्न अनलाइन लगायतका अन्य वैकल्पिक प्रणालीको उपयोग गर्ने, स्थानीय तह अनुसार आलोपालो प्रणाली लागु गर्ने, नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।

विद्यालय, क्याम्पसलगायत शिक्षण संस्थाको सम्बन्धमा नेपाल सरकारको बैशाख ६ गतेको निर्णयमा आधारित भई संक्रमणको विद्यमान अवस्था र जोखिमको विश्लेषण गरी वैशाख मसान्तसम्म विद्यालयहरु बन्द गर्ने तथा परीक्षा सुरु भइसकेको अवस्थामा स्वास्थ्य मापदण्डको पालना गरी वैशाख १० गते भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने निर्णय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *