अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, बैसाख ३१ गते।
आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौ को सातु र सर्वत खाएर मनाइँदैछ । आजको दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।
गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिएको जानकारहरू बताउँछन् ।
वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्री मध्ये एक चिज लगाई सर्बत सँगै र जौको सातु दान गर्ने चलन छ ।
सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ। त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ ।
ज्योतिषशास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन पञ्चांग नहेरी पनि कुनै पनि शुभकार्य गर्न सकिन्छ।
शास्त्रका अनुसार यो दिन स्वयंसिद्ध मुहूर्त हो। विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरीद, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यस दिन अति उत्तम हुने विश्वास गरिन्छ ।