अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,जेठ ३ गते।
आजबाट इंग्ल्याण्डमा गत वर्षको अन्तबाट शुरु भएको लकडाउन खुकुलो गरिएको छ ।
लकडाउनपछि टेकअवेमा मात्र सिमित रहेका रेष्टुरेन्ट, पब तथा क्याफेहरूमा अघिल्लो हप्ताबाट आउटडोर अर्थात बाहिर बसेर खानपिन गर्न पाउने नियम लागू गरिएको थियो ।
सरकारको रोडम्याप अनुसार नै आजबाट लकडाउनको तेस्रो चरण अनुसार थप सहज गरिएको हो ।
सन् २०२१ शुरु भएयता पहिलोपटक पब, बार , क्याफे र रेष्टुरेन्टमा इन्डोर सर्भिस संचालन भएको छ, तर टेबल सर्भिस मात्र अनुमति दिइएको छ ।
यसैगरी मानिसहरु ६ जनासम्मको समूह वा दुई परिवार घरभित्र भेटघाट गर्न र रात बिताउन (ओभर नाइट) पाउने भएका छन् । केहि समय अघिबाट घरबाहिर गार्डेनमा मात्र भेटघाट गर्न पाउने नियम लागू गरिएको थियो । होटल, होस्टल, बी एण्ड बी पुनः सुचारु भएका छन् ।
नयाँ नियम अनुसार अब झण्डै एक वर्षपछि मानिसहरु अंकमाल गर्न पाउनेछन् । तर, सरकारले निकट सम्पर्क हुँदा भाइरसको जोखिम बढी हुने भएकाले सचेत रहन भने अपिल गरेको छ ।