अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २ गते।
सिन्धुपाल्चोकमा मंगलबार साँझ अविरल वर्षासंगै आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ ।
बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले बताए ।
उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।
बाढीले चारवटा पक्की पुल पनि बगाएको छ । मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ ।
त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ । नाकोटेको पुल हालसालै निर्माण सम्पन्न भएको थियो ।
सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।
हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारीले बताए ।
मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।